शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत गर्यो: प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं | साउन २, २०८०
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताउनुभएको छ ।
पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज (मङ्गलबार) आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहाँले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताउनभयो ।
प्रधानमन्त्री प्रचण्डले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गर्नुभयो । उहाँले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले न्नुभयो, “सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो, अन्तिम अवस्थामा आइसियू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि डर पनि थियो, तर बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् ।”
उहाँले अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने आफूले ठानेको बताउनुभयो । सीताको निधनमा प्रकट भएका जनअभिव्यक्ति र जनउभारले आफू र आफ्नो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक र सांस्कृतिक असमानताको अन्त्य गर्न आफूलाई बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा मिलेको बताउनुभयो ।
“शोकको यो घडीमा मित्रराष्ट्र र संसारभरका सबै राष्ट्रप्रमुख र सरकार प्रमुखबाट हामीले अत्यन्त आत्मीय सहानुभूति र ऐक्यबद्धता पायौँ”, उहाँले भन्नुभयो, “कूटनीतिकजगत्, राजनीतिक दल र नेतृत्व वर्ग, सञ्चारजगत्, कर्मचारीतन्त्र, सुरक्षा निकाय, बुद्धिजीवी, साहित्यकार, कलाकार, सङ्गीतकर्मी, व्यवसायी र समाजका सबै तप्काको समवेदना र सहानुभूतिले हाम्रो पीडामा ठूलो मलहम लगाउने काम गरेको छ ।”
उहाँले सबै पक्षको सहानुभूतिका लागि आफू, सरकार, पार्टी र परिवारका तर्फबाट धन्यवादज्ञापन गर्नुभयो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति थियो ।
सो अवसरमा प्रधानमन्त्री पत्नी सीताको व्यक्तिगत तथा राजनीतिक योगदान समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रमपछि प्रधानमन्त्री निवासमा जलपान कार्यक्रमको आयोजनासमेत गरिएको थियो । प्रधानमन्त्री पत्नी सीताको गत असार २७ गते ६९ वर्षीय उमेरमा निधन भएको थियो ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

